७ चैत काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले विभिन्न प्रतिबन्ध र बन्दको घोषणा गरेपनि सरकारी र निजी कार्यालयहरु भने खुला रहने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै सरकारी कार्यालय बन्द नहुने घोषणा गरेका हुन् । ‘सबै सरकारी कर्मचारीहरु र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरुले यथावत रुपमा आ आफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्नुहुनेछ ।’ प्रधानमन्त्रीको सम्बोधनमा भनिएको छ ।

देशभरका अदालतमा दुई हप्ता विदा दिइएपछि सरकारी कार्यालयमा पनि सार्वजनिक विदा घोषणा हुने अपेक्षा गरिएको थियो । विद्युतीय माध्यामबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवाहरु सम्बन्धित कर्मचारी र सेवा प्रदायकलाइ भने घरबाटै सेवा प्रदान गर्न प्रोत्साहित गरिने प्रधानन्त्रीले बताएका छन् ।