१२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले उपचारका लागि सिंगापुरमा छन् । उनी आफ्नो अनुपस्थितीमा उपप्रधानमन्त्री इश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएर सिंगापुर गएका हुन् ।

उनी सिंगापुर पुगेको केही दिनपछि (भदौ ९)मा भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद बैठक बस्यो । भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषदको बैठक बसेको भनेर तस्वीरहरु पनि सार्वजनिक भए भने प्रधानमन्त्रीले पनि ट्वीटरमार्फत् भने, “प्रविधि र प्राविधिकलाई धन्यवाद दिन चाहन्छु । आज पहिलो चोटी सिंगापुरबाट टेलिप्रिजेन्समार्फत मन्त्रीपरिषदको बैठक बस्न सकियो । मन्त्रिपरिषदका सबै सहभागी साथीहरुलाई धन्यवाद । प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सबै सहयोगीहरुलाई धन्यवाद ।”

नेपालको इतिहासमै पहिलोपटक भिडियो कन्फ्रेन्सबाट बैठक बसेको भनेर प्रचार गरियो । त्यसपछि प्रतिपक्षी काँग्रेसका नेताहरुले मात्रै हाेइन सत्तारुढ नेकपाका नेताहरुले पनि विरोध गरिरहेका छन् । विहीबार पनि संसदमा सांसदहरुले यसको विरोध गरे । त्यसपछि सार्वजनिक महत्वको वक्तव्य दिने क्रममा संचारमन्त्री गोकुल बास्कोटाले त्यसदिन मन्त्रीपरिषद बैठक नै नबसेको बताए ।

बास्कोटाले भिडियो कन्फ्रेन्स परीक्षण मात्रै भएको जिकिर गरे । त्यसो भए किन भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद बैठक बसेको भनेर हल्ला गरेको ?भनेर सांसद प्रकाश रसाइली स्नेहीले प्रश्न गरे । त्यसको जवाफमा मन्त्री बास्कोटाले भने, “मुटुको उपचारका लागि बाँदरमा किन परीक्षण गरियो ? किन मान्छेमा गरिएन ? त्यो एउटा परीक्षण मात्रै हो, त्यसलाई अन्यथारुपमा नबुझ्नुहोला ।”
प्रधानमन्त्री ओली र संचारमन्त्री बाँस्कोटाको कुरा बाझिएपछि यसले नेपाली राजनीतिक वृत्त थप गर्माउने देखिन्छ ।