१३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार अचानक आफ्नै पार्टीका नेता बामदेव गौतमलाई भेट्न उनको निवासमा पुगेका छन् ।

प्रधानमन्त्री ओली पार्टी महासचिव विष्णु पौडेल र केही मन्त्रीसहित गौतम निवास भैंसेपाटी पुगेका हुन् । केही समयअघिसम्म दुई नेताबीच सम्बन्धमा दरार आएपनि पछिल्लो समय घनिष्ठता बढ्दो छ । प्रधानमन्त्री ओली भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्य मन्त्रीहरुको निवास शिलान्यास गरेर फर्कने क्रममा बामदेवलाई भेट्न पुगे ।

“बामदेव कमरेडको बाटो कसरी काट्नु भन्दै उहाँ बामदेव कमरेडकहाँ अकस्मात पुग्नुभयो”, बामदेव निकट प्रेस संगठनका पत्रकार विश्वमणी सुवेदीले फेसबुकमा लेखेका छन् । केही समय अघिसम्म ओलीका कटु आलोचक रहेका बामदेव गौतम पछिल्लो समय ओलीसँग अत्यन्तै निकट रहँदै आएका छन् । नेताहरुले सामान्य भलाकुशारीपछि सामूहिक तस्वीर खिचाएका थिए ।