काठमाण्डौं, १०जेठ । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

शुक्रबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान किर्तिपुरमा २ नम्बर प्रदेशलाई १ सय ७१ रनको फराकिलो अन्तरले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो । आर्मीले दिएको २ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको २ नम्बर प्रदेश ३१ ओभर ४ बलमा १ सय ७ रनमै अलआउट भयो ।
२ नम्बर प्रदेशका ५ जना ब्याट्सम्यानले मात्र दोहोरो अंकको रन जोडे ।

हरिशंकर साहले बनाएको २१ रन नै उसका लागि सर्वाधिक बन्यो । हासिम अन्सारी र राहुल प्रताप सिंह शून्य रनमै आउट भए । आर्मीका सह्बाव आलम एक्लैले ४ विकेट लिँदा शुसान भारीले प्रदेश २ का ३ जना ब्याट्सम्यानलाई पेभेलियन फर्काए । २ विकेट जितेन्द्र मुखिया र १ विकेट कुशल मल्लको नाममा रह्यो ।

यसअघि पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७८ रन बनाएको थियो । आर्मीका राजु रिजालले सर्वाधिक ९० रन बनाए । कप्तान विनोद भण्डारीले ६६ र हरि गौचनले २६ रन बनाए । मूलपानी र त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने प्रतियोगितामा ७ वटा प्रदेश र ३ विभागीय टोली सहभागी छन् । प्रतियोगिताको विजेताले २० लाख जित्नेछ भने उपविजेताले १० लाख हात पार्नेछ ।