२६ मंसिर, काठमाडौं । सरकारले कुनै पनि खेलाडीको मन नदुखाउने स्पस्ट पारेको छ । बुधबार प्रधानमन्त्रीले खेलाडीहरुलाई घोषणाा गरेको सरप्राइज प्याकेजमा केही खेलाडीहरुले असन्तुष्टि प्रकट गरेपछि सरकारले यस्तो घोषणा गरेको हो ।

बिहीबार मन्त्रिपरिषको निर्णयहरु सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्त एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले प्रधामन्त्री आफैँले पनि केही छुटफुट भएको भएमा सम्बोधन गरिने भनेकोले खेलाडीहरुको चित्त नदुखाउने बताए । उनले भने, ‘खेलाडीहरुले राष्ट्रको लागि खेल्नुभएको भनेर उहाँहरु आफैँले भनिसक्नुभयो,’ उनले भने, ‘धेरै खेलाडीहरुले त मेरो यो पदक राष्ट्रको लागि पनि भनेक छन्, खेलाडीहरुले पैसाको लागि खेलेका होइनन् ।’

उनले भने, ‘प्रधानमन्त्री आफैँले केही कुरा छुटफुट भएको भए सम्बोधन गर्ने भन्नुभएकोले यसमा कसैको पनि मन नदुखाउने गरी हामीले व्यवस्था गर्छौँ । त्यसैले हामीले यी कुराहरुहरुको यथोचित व्यवस्था गर्नेछौँ ।’ मन्त्री बाँस्कोटाले खेलप्रेमी प्रधानमन्त्री भएको बेलामा कुनै पनि खेलाडीको मन दुखाउनु नपर्ने स्पस्ट पारे । प्रधामन्त्री मनमोहन स्पोस्ट्स क्लबको संस्थापक भएको स्मरण गर्दै मन्त्री बाँस्कोटाले अहिलेको अवस्थामा कोही पनि खेलाडीहरुले चित्त दुखाउनु नपर्ने स्पस्ट पारे ।

१३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक जितेका खेलाडीहरुलाई बुधबार सरकारले सरप्राइज प्याकेज घोषणा गर्यो । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर सरप्राइज प्याकेज घोषणा गरे ।

प्रधानमन्त्रीले घोषणा गरेको प्याकेजमा बुधबारदेखि एकदमै द्वविधा भइरहेको छ । व्यक्तिगततर्फ स्वर्ण बिजेता खेलाडीलाई ९ लाख, रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख रुपैयाँ दिने भनेको छ । यस्तै समुह इभेन्टतर्फ स्वर्ण जित्ने खेलाडीलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ भने प्रशिक्षकहरुलाई पनि ५ लाख रुपैयाँ दिने भनेको छ । समूहगततर्फ स्वर्ण हात पार्ने खेलाडीहरुले आफूलाई व्यक्तिगततर्फ रजतलाई दिइएको रकम व्यक्तिगतभन्दा कम भएको भन्दै असन्तुष्टि प्रकट गरिरहेका छन् ।

व्यक्तिगततर्फ स्वर्ण विजेताको विषयमा द्वविधा नभएता पनि एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीले पाउने रकमको विषयमा अन्यौल अझै कायमै छ । प्रधानमन्त्रीले एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीहरुलाई ११ लाखका दरले दिने भनेता पनि प्रतिस्वर्ण ११ लाख हो की जम्माजम्मी ११ लाख हो भन्ने विषयमा अझै अन्यौल छ । त्यसैगरी अहिलेसम्म टिम इभेन्टमा रजत प्राप्त गर्ने खेलाडीहरुले कति रकम पाउने भन्ने विषयमा पनि अझै टुंगो लागिसकेको छैन ।