काठमाडौं, २६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार भियतनामको औपचारिक भ्रमणमा गएका छन् । उनलाई त्रिभुवन विमानस्थलमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, उपप्रधानमन्त्री इश्वर पोखरेललगायतले विदाई गरेका थिए ।

पहिले भियतनामको भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री ओली उतैबाट कम्बोडिया जाने कार्यक्रम छ । बैशाख ३० सम्म भियतनाम र त्यसपछि जेठ १ गतेसम्म कम्बोडियाको भ्रमण गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भियतनामका प्रधानमन्त्री न्युग्यन जुयान फुकको निमन्त्रणामा गएका प्रधानमन्त्री ओलीले समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् । भ्रमणका क्रममा सरकारले भियतनामसँग तीन समझदारी गर्ने तयारी गरेको छ । प्रवेशाज्ञा, व्यापार तथा लगानी प्रवद्र्धन र द्विपक्षीय परामर्श संयन्त्र स्थापनाका विषयमा समझदारी हुन लागेको हो ।