१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डीसाइटिसको अप्रेसन सफल भएको छ । प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अप्रेसन दिउँसो १२ः४५मा सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओली केहीदिन अस्पताल नै बस्नुपर्ने भएको छ ।

अचानक पेट दुखेपछि मंगलबार बिहानै ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महारजगञ्जमा लगिएको थियो । स्वास्थ्य जाँचका क्रममा प्राप्त रिपोर्टहरुका अनुसार उनलाई एपेण्डिसाइटिस भएको पत्ता लागेको हो ।

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या देखिएपछि उनी पछिल्लो एक महिनायता ग्राण्डी अस्पतालमा नियमित डायलासिस गराउँदै आएका छन् । गत आइतबार साँझ मात्रै चौथो पटक हेमोडायलासिस गरिएको थियो । अस्पताल भर्ना भएपछि मंगलबार तय भएका प्रधानमन्त्रीका सबै सार्वजनिक कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जनाए ।