२३ फागुन, काठमाडौं । मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री ओली हिँड्डुल गर्न थालेका छन् ।

उनलाई आजदेखि सामान्य हिँडडुल गराउन थालिएको अस्पतालका कार्यकारी निर्दशक प्रेमकृष्ण खड्गाले बताए । ‘मिर्गौला प्रत्यारोपण गरिएको आज तेस्रो दिन उहाँको स्वास्थ्य अवस्थामा अपेक्षाकृत क्रमिक सुधार भइरहेको छ’, खड्गाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै ठोस आहार पनि दिन थालिएको छ ।’ हिजो प्रधानमन्त्री ओलीलाई नरम र झोलिलो चिज मात्रै खान दिइएको थियाे ।

फाइल फाेटाे

उनका सबै परीक्षण रिपोर्टहरु सामान्य अवस्थामा रहेको पनि अस्पतालले जनाएको छ । ठोस आहार खान र हिँड्डुल गर्न थालेकाले अब सोमबारसम्म प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गर्ने डाक्टरहरुको तयारी छ ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गरेकी भाञ्जी समीषा संग्रौलाको पनि स्वास्थ्य अवस्था क्रमिक सुधार हुँदै गएको छ । उनलाई पनि ठोस आहार दिन थालिएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको हो ।