२७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनापछि सामान्य मानिस झैँ काम गर्न सक्ने हुने भएका छन् ।

त्रिभुवन शिक्षण अस्पतालमा मंगलबार भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको निजी चिकित्सक डा. दिब्या सिंहले रुघाखोकी र अन्य संक्रमणबाट जोगाउनुपर्ने बताउँदै ६ महिनापछि सामान्य मानिसझैँ काम गर्नसक्ने बताइन् । ‘प्रधानमन्त्रीलाई भीडभाडमा जान सल्लाह दिँदैनौं, पुरै सक्रिय भएर अरु सरह हिँडडुल गर्न ६ महिना लाग्न सक्छ, तर नियमित काम गर्न समस्या हुन्न’ उनले भनिन्, ‘संक्रमणबाट जोगिन केही दूरीमा बस्नुपर्छ ।’

डा. सिंहका अनुसार प्रधानमन्त्री ओलीको सबै स्वास्थ्य सूचकहरु सामान्य अवस्थामा आइरहेका छन् । शरीरमा रक्तचाप, सुगर, क्रियाटिनिन राम्रो अवस्थामा रहेको उनले बताइन् । प्रधानमन्त्रीलाई अबको दुई–तीनदिनभित्र डिस्चार्ज गरिने डा. सिंहको भनाइ छ । ‘प्रधानमन्त्री ओलीलाई अब चाँडै नै अस्पतालबाट डिस्चार्ज गर्दैछौं’, उनले भनिन्, ‘अबको दुईतीन भित्र नै डिस्चार्जको तयारी गरेका छौं। अहिलेसम्मको अवस्था हेर्दा प्रधानमन्त्रीको स्वास्थ्यमा आशातीत सुधार आइसकेको छ ।’

यद्यपि उनलाई अझै केहीदिन अस्पतालमै राखिने छ । घरबाट अस्पतालमै राखेर उपचार गर्न आग्रह गरेपछि ओलीलाई अझै केही दिन अस्पतालमै राखिने डा. सिंहले जानकारी दिइन् । अस्पतालबाट छुटेपछि पुनः काममा फर्किन सक्ने भएकोले घरपरिवारले अस्पतालमै राख्न आग्रह गरिएको हो । प्रधानमन्त्रीले डिस्चार्च मागिरहे पनि उनलाई अझै केहीदिन अस्पतालमै राखिने छ । ‘जबसम्म हामी विश्वस्त हुदैनौं तबसम्म डिच्चार्ज गर्दैनौं, प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार छ, चाँडै डिस्चार्ज हुने अवस्था आउने देख्छु’ उनले भनिन् ।

पत्रकारसँग राखिएको अन्र्तक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीको सहभागिता थियो । उनीहरुले प्रधानमन्त्री ओलीले मृगौला प्रत्यारोपणको लागि शिक्षण अस्पताल रोजेको धन्यवाद दिँदै देशकै कार्यकारी प्रमुख भएकोले केही दबाब पनि महसुस भएको अनुभव सुनाएका थिए । प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरिएपछि अस्पतालले पत्रकार सम्मेलन गरेर पहिलोपटक स्वास्थ्य अवस्थाको जानकारी दिएको हो । यसअघि भने सामान्य विज्ञप्ति मात्र निकाल्ने गरेको थियो ।