१३ फागुन, एजेन्सी । भारतमो महाराष्ट्रमा एक आवासीय सरकारी विद्यालयकी प्रधानाध्यपकले विद्यार्थीहरुलाई १ सय ५० पटक उठबस गराउँदा ६ विद्यार्थी अस्पताल भर्ना भएका छन् । धेरैपटक उठबस गराउँदा उनीहरुको गोडा र कम्मर सुन्निएको छ भने उनीहरुलाइ अस्पताल भर्ना गरिएको छ । १० कक्षामा पढ्ने उनीहरुलाई उठ्न–बस्न समस्या भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

बिहानी प्रार्थना (एसेम्ब्ली)मा चलेपछि उनीहरुलाई यस्तो सजाय दिइएको हो । विद्यार्थीहरु उठ्न बस्नै नसक्ने भएर अस्पताल पुर्याएपछि मात्र घटना सार्वजनिक भएको हो । घटनापछि प्रधानाध्यापकको अमानवीय व्यवहारको विरोध भइरहेको छ । उनले विद्यालयको हरेक कक्षामा लगेर विद्यार्थीहरुको अगाडी १ सय ५० पटक उठबस गर्न लगाएका थिए । सजाय पूरा नगरे प्राक्टिकल नम्बर नदिने धम्की दिएपछि विद्यार्थीहरु बाध्य भएर सजाय गर्नुपरेको थियो ।

१८ फेब्रुअरीमा आफूहरुको प्राक्टिकल भएको र सोही दिन एसेम्ब्ली चलिरहेको समयमा उनीहरु प्राक्टिकल किताब लिन उनीहरु होस्टेलको कोठामा गएका थिए । एसेम्ब्ली चलिरहँदा उनीहरु किताब लिएर फर्किएका थिए । विद्यार्थीहरुले आफूहरुले एसेम्ब्लीको समय बाहिर गएको र आउँदा जुत्ताको आवाजले एसेम्ब्लीमा अवरोध भएको भन्दै सजाय दिएको बताएका छन् । ‘हामीलाई प्रत्येक कोठामा लगेर ५०–५० पटक उठबस गराइएको थियो,’ एक विद्यार्थीले भनिन्, ‘हामी रोइरहेको भएता पनि मिसले हामीलाई रोक्न भन्नुभएन, हामीलाई उठ्न बस्नै गाह्रो भएपछि भोलिपल्ट अस्पताल ल्याउनुभयो ।’

डाक्टरका अनुसार विद्यार्थीहरुको कम्मर र गोडा सुन्निएको कारण उनीहरुलाई चल्न समस्या भइरहेको छ । घटना पुरै थाहा पाएपछि डाक्टरले प्रहरीलाई खबर गरेकी छन् । प्रहरीले यो घटनाबारे अनुसन्धान शुरु गरेको छ । प्रधानाध्यापकलाई पक्राउको तयारी गरिएको भारतीय मिडियाले जनाएको छ ।