१० कात्तिक, काठमाडौँ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई टेलिफोन गरी सोमबारको भूकम्पले पाकिस्तानमा पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति समवेदना प्रकट गरेका छन् ।

अफगानिस्तानको हिन्दकुश पर्वतमा सोमबार दिउँसो गएको शक्तिशाली भूकम्पले पाकिस्तान र अफगानिस्तानमा पुर्याएको ठूलो जनधनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन ।

बेलायत भ्रमणमा रहनुभएका पाकिस्तानी प्रधानमन्त्री सरिफसँग गए राति प्रधानमन्त्री ओलीले कुराकानी गर्नुभएको उहाँका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । विपत्को यस घडीमा नेपाल सरकार र नेपाली जनता सदैव पाकिस्तान सरकार र पाकिस्तानी जनताका साथमा रहेको र नेपाल सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता प्रधानमन्त्री ओलीले समकक्षी सरिफसँग व्यक्त गर्नुभएको थियो । रासस