३ फागुन, काठमाडौं । साहित्यकार रञ्जु दाहालको नियात्रासङ्ग्रह ‘प्रियसँगको यात्रा’ को दोस्रो संस्करणमाथि आज परिचर्चा गरिएको छ ।

‘शाल्मलि’ मासिकले आयोजना गरेको कार्यक्रममा नियात्राकार एवं समीक्षकहरुले दाहालको कृतिमा लेखकले पात्रहरुको भौतिक र मानसिक यात्रा रोचक ढङ्गले प्रस्तुत गरेको जनाइयो । साहित्यकार एवं पत्रकार प्रमोद प्रधानले ‘प्रियसँगको यात्रा’ मा स्थानीयता, यात्राका क्रममा लेखकका सोचाइ र परिवेशलाई मिहीन ढङ्गले प्रस्तुत गरिएको बताए ।

समालोचक डा निर्मोही व्यासले नियात्रामा दाहालको प्रवेशले यस विधालाई सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो । साहित्यकार इल्या भट्टराईले नयाँ पुस्तामा नियात्रा लेखनमा देखिएको उपस्थिति उत्साहजनक रहेको बताए ।

शब्दघर प्रकाशनका प्रोल्लास सिन्धुलीयले ‘प्रियसँगको यात्रा’ एक वर्षकै अवधिमा दोस्रो संस्करण प्रकाशन भएको र दाहालको कविता तथा निबन्ध दुवै विधामा सक्रियता पाइएको जनाए । कार्यक्रममा लेखकका गुरु, सहयात्री र विद्यार्थीले लेखकबारेका अनुभूतिसमेत प्रस्तु गरेका थिए ।