२७ फागुन, एजेन्सी । उच्च रक्तचाप (हाइ ब्लडप्रेसर) का विरामीलाई कोभिड नाइन्टिन भनिने कोरोना भाइरसको संक्रमण भएमा मृत्यु हुने खतरा धेरै रहेको पाइएको छ ।

चीनमा कोरोना संक्रमित विरामीको उपचारका लागि आइसियुमा खटिएका डाक्टरले आफ्नो अनुभवका आधारमा यस्तो बताएका हुन् । उनी मध्य जनवरीदेखि कोरोनाका विरामीका उपचारमा आइसियुमा निरन्तर खटिइरहेका छन् ।

यो कुनै गहन खोज र अनुसन्धान गरेर निकालिएको आधिकारिक शोधपत्र वा खोजी रिपोर्ट भने होइन । कोरोना भाइरसको उद्गमविन्दु मानिने वुहान शहरमा संक्रमितको उपचारका क्रममा यस्तो पाइएको ति व्यक्तिको भनाई छ । उनी भन्छन्, ‘पहिलोपटक वुहानमा एकैपटक कोरोना संक्रमणका कारण १ सय ७० जनाको मृत्यु भएको थियो जसमा लगभग आधामा उच्च रक्तचापको समस्या रहेको थियो ।’

कोरोना संक्रमणका कारण चीनमा मात्रै मृत्यु हुनेको संख्या ३ हजार १ सय ३६ पुगेको छ । ८० हजार ७ सय ६१ जना संक्रमित हुँदा ६० हजार १ सय १३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ४ हजार ७ सय ९४ जनको अवस्था गम्भीर रहेको छ ।