२८ कात्तिक, काठमाडौं । नेपालको चार दिने औपचारिक भ्रमण सकेर बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद स्वदेश फर्किएका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाइ गरिन् । उनको विदाइका क्रममा विमानस्थल झण्डै एक घण्टा बन्द गरिएको थियो । त्यसक्रममा आन्तरिक तथा बाह्य उडान तथा अवतरण हुन सकेनन् । भैरहवाबाट आएको विमान र अन्य केही अन्तर्राष्ट्रिय विमानले अवतरण अनुमतिको पर्खाइमा काठमाडौंको आकाशमा चक्कर लगाए ।

राष्ट्रपति हमिदले नेपालमा रहँदा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए । भ्रमणका क्रममा राष्ट्रपति हमिदले पोखराका पर्यटकीय स्थल र भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका थिए ।

उनी आज चन्द्रागिरी हिल्स र पाटन दरबार क्षेत्रमा जाने कार्यतालिका रहेपनि अन्तिममा स्थगित भएको थियो । राष्ट्रपति भण्डारीको औपचारिक र मैत्रीपूर्ण निमन्त्रणामा हमिद मंगलबार नेपाल आएका हुन् । राष्ट्रपति भण्डारीको औपचारिक र मैत्रीपूर्ण निमन्त्रणामा हमिद मंगलबार नेपाल आएका हुन् ।