६ फागुन, बागलुङ । श्रीमतीलाई हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–७ गाल्डुङका ६२ वर्षीय देवीराम विकलाई इलाका प्रहरी कार्यालय बुर्तिवाङको टोली बिहीबार बिहान उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बुधबार राति नौ बजेको समयमा ५० वर्षीया श्रीमती गौरा विकलाई घरायसी झगडाका कारण फलामको गैची प्रहार गरी हत्या गरेको अभियोगमा देवीराम विकलाई पक्राउ गरेको बागलुङका प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिए ।

मादक पदार्थ सेवन गरेका देवीरामले सामान्य विवाद उत्पन्न भएपछि आवेगमा आएर श्रीमतीलाई गैची प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हत्या भएकी श्रीमती गौरा विकको शव बुहारी कल्पना विकलाई प्रहरीले जिम्मा लगाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।