२४ मंसिर, काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को अन्तिम दिन दशरथ रंगशालामा कालो ब्यानर देखिएको छ ।

नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई प्रहरी नायव उपरीक्षक सन्तोषसिंह राठौरसहितले कुटपिट गरेको विरोधमा दशरथ रंगशालामा पत्रकारहरुले कालो ब्यानर देखाएका हुन् ।

‘प्रहरी दमन मुर्दावाद’, ‘१३ औँ साग प्रहरीको परेड होइन’ सहितका नारा लेखिएका व्यानर खेल पत्रकरहरुले दशरथ रंगशालाको प्याराफिटबाट देखाएका थिए । यसरी देखाइएको ब्यानर प्रहरीले खोसेका थियो ।

नेपाल र भुटानबीचको फुटबलको स्वर्ण भिडन्त चलिरहँदा खेल पत्रकारहरुले रंगशालामै विरोध जनाएका हुन् । टिकटको दोब्बर मूल्य वृद्धि गरिएपछि विरोधमा उत्रिएका फुटबल समर्थकहरुमाथि प्रहरीले कुटपिट गरेको फोटो खिच्ने क्रममा चापागाईंमाथि कुटपिट भएको थियो ।