१९ मंसिर, पोखरा । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पोखरामा जारी २० ओभरको महिला क्रिकेट प्रतियोगितामा बङ्गलादेश क्रिकेट टिम फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सलाई २४९ रनको फराकिलो अन्तरले पराजित गर्दै बङ्गलादेश फाइनलमा पुगेको हो ।

पोखरा रङ्गशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा दुई विकेटको क्षतिमा २५५ रनको विशाल योगफल तयार पारेको थियो । बङ्गलादेशका दुई खेलाडीले शतक प्रहार गरे । बङ्गलादेशकी निगार सुल्तानले अविजित ११३ तथा फरगङ्गा हकले अविजित ११० रन जोडेकी थिइन् । पैँसठ्ठी बलको सामना गरेकी सुल्तानले तीन छक्का र १४ चौका प्रहार गरिन् । उनलाई प्लेयर आफ द म्याचले सम्मान गरियो ।

त्यस्तै विस्फोटक ब्याटिङ गरेकी फरगङ्गाले ५३ बलमा २० चौका प्रहार गरेकी थिइन् । माल्दिभ्सका बलर समा अलीले एक विकेट लिइन् । बङ्गलादेशका समिमा सुल्तान रनआउट भएकी थिइन् । जीतका लागि २५६ रनको लक्ष्य पछ्याएको माल्दिभ्सको पारी मात्र ६ रनमा समेटियो । माल्दिभ्सका समा अलीले दुई तथा स्माइस र अतिमाथले १–१ रन मात्रै बनाए । दुई रन अतिरिक्त रनका रुपमा आएको थियो । बङ्गलादेशको बलर रितु मोनी र सलमान खातुनले समान ३–३ विकेट लिए भने रबेया खान र पूजा चक्रवर्तीले एक–एक विकेट हात पारे ।

यसका साथै राउण्ड रोबिनका तीनवटै खेलमा जीत प्राप्त गरेको बङ्गलादेश शीर्षस्थानमा रहँदै फाइनल पुगेको हो । बङ्गलादेशले पहिलो खेलमा श्रीलङ्कालाई सात विकेटले र दोस्रो खेलमा नेपाललाई १० विकेटले पराजित गरेको थियो ।

नेपाललाई खेल जित्नैपर्ने दबाब
फाइनल पुग्नका लागि अब नेपाललाई श्रीलङ्काविरुद्ध भोलि हुने खेल जित्नै पर्ने भएको छ । राउण्ड रोबिनमा नेपाल र श्रीलङ्का दुवै एक खेलमा जीत र एक खेलमा पराजित भएकाले दुवैको समान २–२ अङ्क रहेको छ । नेपाल र श्रीलङ्का दुवैले माल्दिभ्सलाई पराजित गरेर आ–आफ्ना खातामा समान दुई अङ्क जोडेका हुन् तर, नेट रनरेटको आधारमा नेपाल लिगको दोस्रो स्थानमा रहेको छ । रासस