२ असोज, काठमाडौं । नेपालले फिफा वरियतामा राम्रो सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज बिहीबार प्रकाशित गरेको वरियतामा नेपाल पाँच स्थान माथि उक्लिएको हो ।

फाइल फाेटाे

पुरुषतर्फ नेपाल १ सय ६१ औं स्थानमा रहन सफल भएको छ । यसअघि नेपाल १ सय ६६ औं स्थानमा थियो । नेपालले फुटबल विश्वकप छनोटमा ताइवानमाथि जीत हासिल गरेको थियो भने उमेर समूहमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । दक्षिण एसियाको वरियतामा भने नेपाल तेस्रो स्थानमा छ ।

नेपाल भन्दा माथि रहेको भारत १ सय ४ औं र माल्दिभ्स १ सय ५३ औ स्थानमा छ । नेपाल भन्दा तल रहेका भुटान १ सय ८५ औं, बंगलादेश १ सय ८७औं, पाकिस्तान २ सय ३ औं र श्रीलंका २ सय २ औं स्थानमा रहेका छन् । विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत रहँदा विश्व बिजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्याण्ड चौंथो र पोर्चुगल पाँचौं स्थानमा रहेका छन् ।