२८ पुष, एजेन्सी । फिलिपिन्समा ज्वालामुखी बिस्फोटको खतरा बढेको छ । एक ज्वलामुखीबाट लाभा निस्कन सुरु भएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।

राजधानी मनिलाबाट ७० किलोमिटर दक्षिणतर्फ रहेको ताल ज्वालामुखी बिस्फोट हुन लागेको हो । ज्वालामुखी बिस्फोट हुनुअघि निस्किएको खरानीको मुस्लोले शहरका धेरै ठाउँमा जनजीवन प्रभावित भएको छ । खरानीकाे मुस्लाे निस्किँदा ठूलाे आवाज आउनुका साथै जमिन पनि हल्लिएकाे थियाे । खरानी सडक, गाडी, रुख बिरुवा र चराचरुङ्गि खरानीमा लत्पतिएका छन् । खरानीको मुस्लो निस्किएपछि उक्त क्षेत्रबाट झण्डै ८ हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएकाे छ । ताल फिलिपिन्सको दोस्रो सक्रिय ज्वालामुखी हो । एउटा विशाल तालको बीचमा रहेको द्वीपमा रहेको ज्वालमुखी पर्वतलाई विश्वकै साना ज्वालामुखीमध्ये मानिन्छ ।

बितेका ४ सय ५० वर्षमा यो ज्वालामुखी कम्तीमा ३४ पटक बिस्फोट भएको रेकर्ड छ । ज्वालामुखी तथा भूकम्प हेर्ने फिलिपिन्सको निकाय फिभोल्क्स अनुसार स्थानीय समयअनुसार ताल ज्वालामुखी विहान २ बजेर ४९ मिनेटदेखि ४ बजेर २८ मिनेटसम्म बिस्फोटन हुने जनाएको छ । लाभाको फोहरा निस्किँदा चट्याङ परेको र बिजुली चम्किएको थियो । अधिकारीहरुले ज्वालामुखीका कारण सुनामी नै आउनसक्ने चेतावनी पनि दिएका बीबीसीले उल्लेख गरेको छ ।

ज्वालामुखी बिस्फोट हुनुपूर्व निस्किएको खरानीको मुस्लोले आज त्यहाँको विमानस्थलबाट कुनै पनि उडान र अवतरण हुन सकेनन् । विमानलाई क्षति पुग्न सक्नेभन्दै विमनस्थल बन्द गरिएको हो । फिलिपिन्समा भूकम्प र ज्वालामुखीलाई असामान्य घटना नमानिएपनि सबै विद्यालयहरु बन्द गरिएको छ । फिलिपिन्स रिङ अफ फायर भनिने भूकम्पीय जोखिम उच्च भएको क्षेत्रमा पर्दछ । सन् १९११ मा यो ताल ज्वालामुखी बिस्फोट हुँदा १५ सय मानिसले ज्यान गुमाएका थिए । यो ज्वालामुखी पछिल्लोपटक सन् १९७७ मा बिस्फोट भएको थियो ।