५ माघ, एजेन्सी । पाकिस्तानी सरकारविरुद्ध फेसबुक पोस्ट गरेको आरोपमा त्यहाँका एक पत्रकारलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । उनले देशविरोधी फेसबुक पोस्ट सेयर गरेको पाकिस्तानी सञ्चारमाध्यम डनले उल्लेख गरेको छ ।

च्यानल फाइभ र उर्दु समाचार पत्रका पत्रकार अजहरुल हक वाहिदलाई एफआईए(प्रहरी)ले बिहीबार पक्राउ गर्दै मुद्दा दर्ता गरेको थियो । दर्ता गरिएको मुद्दामा भनिएको छ, ‘सामाजिक सञ्जाल जाँचको दौरान राष्ट्रविरोधी र सरकारी अधिकारीहरु तथा विभिन्न विभागहरु विरुद्ध आपत्तिजनक पोस्ट वाहिदको नामको फेसबुक प्रोफाइलमा अपलोड गरिएको पाइयो ।’

एफआईएले पत्रकारलाई शुक्रबार अदालतमा पेश गरेको थियो । अदालतले उनीमाथि लागेको आरोपको बारेमा तीनदिनभित्र अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ । राष्ट्रविरोधी पोस्ट भनिएता पनि त्यो पोस्टको बारेमा भने अहिलेसम्म केही पनि जानकारी गराइएको छैन ।

आरोपी पत्रकारले देशको राष्ट्रगानलाई तोडमोड गरी त्यसलाई अपमानजनक बनाएर फेसबुकमा सेयर गरेको आरोप दायर गर्ने वकिलको आरोप छ । उनका अनुसार पत्रकारको घरमा पनि प्रहरीले चेकजाँच गरेको छ । पत्रकार वाहिदलाई २० जनवरीमा पुनः अदालतमा पेश गरिनेछ ।

यसैबीच लाहोर प्रेस क्लबले शुक्रबार एक विज्ञप्ति जारी गर्दै वाहिदलाई पक्राउको कडा आलोचना गरेको छ । प्रेस क्लबले प्रधानमन्त्री इमरान खानसँग वाहिदलाई तुरुन्त रिहाई गर्न माग गरेका छन् । प्रेस क्लबले एफआईएलाई माफी माग्नुपर्ने बताउँदै यदि त्यस्तो नभए देशभर विरोध प्रदर्शन गरिने चेतावनी दिएको छ ।