२१ साउन, एजेन्सी । अमेरिकी शेयर बजारमा सोमबार आएको गिरावटका कारण त्यहाँको मुख्य पाँच कम्पनीलाई १ सय ६२ अर्ब डलरको नोक्सान भएको छ । नोक्सानीमा जाने कम्पनीहरुमा फेसबुकसहित माइक्रोसफ्ट, एप्पल, अमेजन र अल्फाबेट रहेका छन् ।

चीन र अमेरिकाको व्यापार युद्धका कारण यी कम्पनीहरुको शेयर मूल्यमा तीन प्रतिशतले कमि आएको हो । व्यापार युद्धले सबैभन्दा बढी असर टेक्नोलोजी कम्पनीहरुलाई पारेको छ । सोमबार शेयर मूल्यमा आएकाे गिरावट यो वर्षकै उच्च भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी बजारमा गतहप्तादेखि नै शेयरबजार ओरालो लागिरहेको छ । पाँच कम्पनीलाई शुक्रबार मात्रै ६६ अर्ब डलरको नोक्सान भएको थियो । यसरी जम्मा २ सय २८ अर्ब डलर नोक्सान भएको छ । एप्पल कम्पनीको शेयर मात्र पछिल्लो दुई दिनमा ५.२ प्रतिशतले घटेको छ ।