२६ कात्तिक, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका क्रममा आज अपराह्न यहाँ आइपुगेका छन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षी हमिदलाई स्वागत गरिन् । विमानस्थलको सोही कक्षमा राष्ट्रपति हमिदलाई पञ्चकन्याले पुष्पहारद्वारा स्वागत गरेका थिए । यसअघि राष्ट्रपति हमिद सवार विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले स्वागत गरेका थिए।

सो अवसरमा राष्ट्रपति हमिदको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो । विशिष्ट पाहुनाको स्वागतार्थ विमानस्थलमा सातवटै प्रदेशका जीवन्त कला र संस्कृतिको झाँकी प्रदर्शन गरिएको थियो । विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उपस्थित थिए ।

सबै तस्वीर: रासस