७ भदौ, चितवन । बाढीले बगाएर घाईते भएको दुर्लभ एकसिंगे गैंडाको उपचार कै क्रममा आज मृत्यु भएको छ ।

बाढीले बगाएर पुर्वी चितवनको कुमरोज सामुदायिक वनमा ल्याईपुर्याईएको घाइते गैंडाको आज दिउँसो मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं पुर्वी क्षेत्र प्रमुख अभिनय पाठकले जानकारी दिए ।

उनका अनुसार अघिल्लो हप्ता चितवनको राप्ती नदीमा आएको बाढीले अन्दाजी १६,१७ वर्षको भाले गैंडालाई बगाएर कुमरोज स्थित चितवन राष्ट्रिय निकुञ्जको जनकपुर पोष्ट नजिकै ल्याएको थियो ।

बाढीका कारण गर्धन तथा खुट्टामा गम्भिर चोट लागेको उक्त गैंडाको पशु चिकित्सकको टोलीले उपचार गरिरहेको थियो ।

‘हिजोसम्म घाँस खाँदै थियो आज अपरान्ह एक्कासी मृत्यु भयो, पाठकले भने, भित्री अंगमा गम्भीर चोट लागेकाले उपचार सफल हुन सकेन ।’

समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान कुमरोजका अध्यक्ष ईश्वरी पाठकले गैंडालाई बाढीले राप्ती नदीको स्परमा ठोक्याउँदै ल्याएकाले भित्री अंगमा गम्भिर चोट लाग्दा बचाउन नसकिएको बताए ।