२३ साउन, काठमाडौं । साउन लागेदेखि सुनको मूल्य लगातार बढिरहेको छ ।

बुधबार तोलामा १५ सय बढेको सुनको भाउ बिहीबार ५ सय रुपैयाँले बढेको हो । बिहीबारको मूल्य बढेसँगै सुनको मूल्य ७० हजार रुपैयाँ प्रतितोला पुगेको छ । यो अहिलेसम्मकै उच्च रेकर्ड हो ।

बुधबार तोलाको ६९ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य बिहिबार रेकर्ड कायम गरेको हो । चाँदी पनि हिजोको तुलनामा तोलामा १५ रुपैयाँ बढेर आज ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनचाँदीको भाउ लगातार उकालो लागेपछि बिक्री घटिरहेको छ । अमेरिका र चीनबीचको व्यापार युद्धले सुनको मूल्य आकासिएको व्यवसायीहरुको भनाइ छ ।