काठमाडाै‌ँ, २६ जेठ । अघिल्लो हप्ता काठमाडौँको सुन्धारामा एउटा निजी कार र ट्याक्सी ठोक्कियो । क्षतिपूर्तिको विवाद महानगरीय ट्राफिक प्रहरी महाशाखासम्म आइपुग्यो । उक्त दुर्घटनामा परेको कारका चालकले मादक पदार्थ सेवन(मापसे) गरेका थिए । उनले दायाँ बायाँ नहेरी एकसुरमा हुइँक्याउँदा ट्याक्सी ठोक्किन आएको प्रहरीको विश्लेषण छ ।

दुर्घटनाको गुनासो सुन्ने शाखाका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले कार चालकको पहिलो गल्ती औँल्याउँदै भने, “मापसे चलाएर गाडी दौडाउनेबित्तिकै कानून विपरीत भैहाल्यो” यो घटनामा उनलाई मापसे कारबाहीसँग ठोक्किएको गाडीको क्षतिपूर्तिको प्रक्रिया समेत अघि बढ्छ ।” छलफलमा मापसे गरेको स्वीकार गर्ने कार चालक गाडीको क्षतिपूर्ति भने ट्याक्सी चालकले तिर्नुपर्ने माग दाबी गर्दै थिए ।

गत आइतवार ललितपुरको धोवीघाटमा मोटरसाइकललाई गाडीले ठक्कर दिँदा पत्रकार गोविन्द शर्मासहित अर्का एक जनाको मृत्यु भयो । उक्त दुर्घटना पनि तीब्र गतिकै कारण भएको प्रहरीको अनुमान छ । यी दुई घटना मात्रै होइन, पछिल्लो समयमा मुलुकमा भएका सवारी दुर्घटनामा चालकको लापरबाही बढी देखिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सङ्ख्यात्मक रुपमा दुर्घटनाको मात्रा बढ्न् थालेको प्रहरीको भनाइ छ ।

फाइल फाेटाे ।

महाशाखाको अभिलेखमा आब २०७४÷७५ मा छ हजार ३८१ सवारी दुर्घटनामा १९४ जनाको मृत्यु र चार हजार ५५२ जना घाइते भएका थिए । आब २०७५/७६ मा दुर्घटना बढेर छ हजार ९८२ पुग्यो । उक्त दुर्घटनामा २११ जनाको मृत्यु र पाँच हजार ६५ जना घाइते भए । दुर्घटनामा धेरै मोटरसाइकल परेका छन् । चालकको लापरबाही र तीब्र गति दुर्घटनाको मुख्य कारण रहेको प्रहरीको विश्लेषण छ ।

काठमाडौँको कलङ्की–कोटेश्वर क्षेत्रमा आठ लेन सडकमा भएको अधिकांश दुर्घटनामा चालकको लापरवाही (तीब्र गति) देखिएको छ । सम्भावित दुर्घटनास्थल क्षेत्रको पहिचान गरी आवश्यकता अनुसारको दुर्घटना न्यूनीकरण अभियान थालिएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी दिए । प्रहरीले कोटेश्वर कलङ्की नमूना सडकको सर्भिस लेनमा प्रतिघण्टा २० किमी र मुख्य मार्गमा लेनमा ५० किमी प्रतिघण्टाको गति सीमित गरेको छ । ‘लेजर गन’बाट गति मापन गरी एक हप्तासम्म प्रचारात्मक कार्यक्रम भैरहेको र यही मङ्गलबारदेखि भने चालकलाई प्रमाण देखाएर कारवाही थालिने भएको छ ।

प्रहरीले यसअघि नै शुरु गरेको दुईपाङ्ग्रे सवारी चालकलाई सडकमै पढाउँदै कार्यक्रमलाई समेत थप प्रभावकारी बनाउन थालेको छ । दुर्घटनामा बढी मोटरसाइकलमा सवार व्यक्ति मृत्यु र घाइते हुने गरेकाले यो कार्यक्रम ल्याइएको ट्राफिक प्रहरी नायब उपरीक्षक रामबाबु रानाले बताउनुभयो । अहिलेसम्म ४० हजार चालकले शिक्षा लिइसकेको अभिलेख प्रहरीसँग छ । अब भने चारपाङ्ग्रे सवारीका चालकलाई पनि पढाउने तयारी गरिएको महाशाखा प्रमुख पन्तले बताए।

“दुईपाङ्ग्रेलाई सडकमै रोकेर उनीहरुलाई ट्राफिक नियमबारे जानकारी दिइने, पर्चा वितरण गर्ने, उनीहरुलाई सचेत गराउने काम सडकमै हुन्छ, चारपाङ्ग्रेका चालकलाई निश्चित ठाउँमा लगेर प्रशिक्षण दिने तयारीमा छौँ, गति नियन्त्रण तथा नियमित जाँचलाई समेत तीब्रता दिन थालेका छौँ,” पन्तले भने । अहिले उपत्यकामा चालक पढ्दै छन् तर दुर्घटना पनि बढ्दै छन् । यसअघि प्रहरीले मापसे गरेर सवारी चलाउने, लेन मिच्नेलगायतलाई छुट्टै ट्राफिक कक्षा समेत सञ्चालन गर्दै आएको छ । दैनिक सयौँले कक्षा लिए पनि तथ्याङ्कले दुर्घटना न्यूनीकरण गर्न भने सकेको छैन ।

काठमाडौँ उपत्यकामा २०७४ सालमा हर्न बजाउन निषेध गरिएको थियो । केही समय हर्न बजाउन रोकिएपनि कार्यान्वयन प्रभावकारी नहुँदा अहिले हर्न बजाउने क्रम बढ्दो छ । अब पुनः प्रहरीले हर्न निशेषलाई कडाइ थालेको छ । आज र भोलि प्रचारात्मक अभियान चलाउने र त्यसपछि प्रहरीले हर्न बजाउनेलाई कारवाहीको दायरामा ल्याउन लागेको महाशाखाले जनाएको छ । रासस