२० फागुन, काठमाडौं । साताको तेश्रो दिन सुनको मूल्य बढेको छ । मंगलबार सुनको ३ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ७८ हजार ३ सय रुपैयाँमा कारोबार हुँदा तेजाबी सुनको मूल्य तोलाको ७८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार प्रतितोला १२ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार स्थिर भएको थियो । तर मंगलार पुनः तोलामा ३ सय रुपैयाँ बढेको हो । कोरोना भाइरसको प्रभाव विश्वभर देखिन थालेपछि फागुन महिनामा मात्र सुनको मूल्य तोलामा ४३ सय रुपैयाँसम्म बढेको थियो ।

फागुनको पहिलो दिन ७६ हजारमा कारोबार भएको सुनकोम मूल्य १२ गते अहिलेसम्मकै उच्च ८० हजार ३ सय रुपैयाँ तोलामा कारोबार भएको थियो ।