कृष्ण न्यौपाने 

१६ मंसिर,दमौली । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण शुरु भएको केबुलकार एक वर्षभित्र सञ्चालन हुने गरी निर्माणको कामले तीव्रता पाएको छ ।

बन्दीपुर केबुलकार परियोजनाअन्तर्गत अहिले बटम स्टेशनको काम धमाधम चलिरहेको छ । परियोजनाको साझेदार कम्पनी आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्शन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले एक वर्षभित्र केबुलकार सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिइएको जानकारी दिनुभयो ।

बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा निर्माण भइरहेको उक्त भवनको लागत रु १८ करोड ५५ लाख रहेको छ । भवन एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सो लिमिटेड, पञ्चासे केबुलकार एन्ड टुर्स लिमिटेड, टुरिजम इन्भेष्टमेन्ट फन्ड, बन्दीपुर गाउँपालिकाको साझेदारीमा निर्माण हुन लागेको बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कूल लागत रु एक अर्ब ५६ करोड रहेको छ । केबुलकारको माथिल्लो स्टेशनमा दश तल्लाको होटलसहितको भवन निर्माण गरिनेछ ।

रु ८२ करोडको लागतमा निर्माण हुने उक्त भवनमा आधुनिक भ्यू टावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण गरिने शर्माले जानकारी दिनुभयो । “होटलसहितको भवन निर्माणका लागि भर्खरै मात्र नक्सा पास सम्पन्न भएको छ”, शर्माले भन्नुभयो, “अब यसलाई पनि निर्माणको चरणमा लैजान्छौँ ।” अध्यक्ष शर्माका अनुसार रेष्ट्रो जोन, शपिङ मल र केबुलकारको ड्राइभ स्टेशन, टिकट काउन्टर र उत्तर दक्षिण प्यासेजको निर्माण गर्ने गरी काम अगाडि बढाइएको छ ।

पाँच सय क्षमताको सभाहलसमेत उक्त भवनमा निर्माण गरिनेछ । प्रारम्भमा रु ५६ करोडको लागतमा केबुलकार सम्पन्न गर्ने योजना रहेकामा कम्पनीले केबुलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबुल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरणहरु जडान गर्ने योजना थप गरेको थियो । साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा शुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ ।

कम्पनीले केबुलकारको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई रु ४५ लाख बराबरको शेयर प्रदान गरिसकेको छ ।

केबुलकार कम्पनीमा २२५ जनाभन्दा बढी स्थानीयवासीले शेयर हालिसकेका छन् । स्थानीयवासीबाट केबुलकार निर्माणका लागि करिब रु तीन करोड शेयर सङ्कलन भएको छ भने बन्दीपुर गाउँपालिकाले रु ५० लाख शेयर लगानी गरेको छ ।

“परियोजनामा सबै क्षेत्रको लगानी सुनिश्चित गर्न निजी, सामुदायिक, सहकारी, सरकारी र संस्थागत साझेदारी एवं व्यवस्थापनको मोडेलमा पूँजी निर्माण गरिनेछ,” उहाँले भन्नुभयो ।

ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट घण्टामा दुई सय जना वारपार गर्न सक्नेछन् । एशियाकै ठूलो हुने दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ ।

ठूल्ढुङ्गास्वाँरादेखि शुरु हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबुलकारले एक किलोमिटर छसय मिटर यात्रा गर्नेछ । डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किलोमिटरको उकालो दूरी बसमा करिब २० मिनेट लाग्छ । केबुलकार निर्माण भएपछि केबुलकारमा नौ मिनेटमा बन्दीपुर पुग्न सकिन्छ । रासस