२५ कात्तिक, काठमाडौं । युवा युवतीलाई बन्धक बनाएर अश्लिल भिडियो बनाई पैसा असुल्ने तीन जना दाङबाट पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरले मोटरसाईकलमा सवार एक युवा र युवतीलाई बन्धक बनाई अश्लिल भिडियो बनाई पैसा माग्नेहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहागरपालिका ३ खमारी निवासी १९ बर्षीय बिमल वली, सोही ठाउँका १९ बर्षीय नविन नेपाली र २६ बर्षीय दुजबहादुर खत्री रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड फायरिङ गर्नु परेको इप्रका तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले बताए । युवा युवतीलाई बन्धक बनाउने र अश्लिल भिडियो बनाउने मध्यका तुलसीपुर ३ कै २३ बर्षीय ईश्वर पुन र २० बर्षीय अर्जुन पुन फरार रहेको प्रहरीले जनाएको उनीहरुको खोजी तीव्र पारिएको प्रहरीले बताएको छ ।

गत शनिवार दिउँसो साढे ३ बजेतिर रा ४ प ६०८३ नम्बरको मोटरसाईकलमा तुलसीपुर उपमहानगरपालिका ३ खमारीस्थित चमेरे गुफाबाट फर्किदै गर्दा तुलसीपुरका एक महिला र पुरुषलाई स्थानीय युवाहरुले बन्धक बनाएर अश्लिल भिडियो बनाएको र त्यो सार्वजनिक गरिदिने भन्दै ५ लाख रुपैंया माग्दै आएका थिए ।