इस्लामाबाद, ८ मङसिर  । उत्तरपश्चिमी पाकिस्तानको प्रान्तीय राजधानी पेसावरमा शुक्रबार बिहान भएको बम विस्फोटमा परी पाकिस्तानका दुइजना प्रहरी अधिकारीको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमहरुले शुक्रबार सो जानकारी दिएका छन् ।

पेसावरको हेयाताबाद क्षेत्रको ततारा पार्कनजिकै उनीहरुको हत्या गरिएको समाचारमा जनाइएको छ । पेसाबर उत्तरपश्चिमी खैवर पाख्तुनख्वाको प्रान्तीय राजधानी हो ।

यस आक्रमणमा परी प्रहरी जनरल मुहमद असरफ नुर र उनको अङ्गरक्षकले ज्यान गुमाएका बताइएको छ ।

यी प्रहरी अधिकारी आफ्नो कार्यालयतर्फ गइरेहको अवस्थामा सो आक्रमण भएको प्रहरीले जनाएको छ ।

यस आक्रमणबाट प्रहरी अधिकारीको सवारी साधान पूर्णरुपमा ध्वस्त भएको बताइएको छ । हालसम्म यस आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन । रासस/सिन्ह्वा