२० मंसिर, एजेन्सी । भारतको हैदरावादस्थित तेलाङ्गनामा एक महिला पशु चिकित्सकमाथि बलात्कारपछि हत्या गरी शव जलाएको अभियोग लागेको चारजना शुक्रबार बिहान इन्काउन्टरमा मारिएका छन् । शमशाबादका डिएसपी प्रकाश रेड्डीका अनुसार प्रहरीले अभियुक्तहरुलाई लिएर महिला पशु चिकित्सकको शव भेटिएको पुलमुनि लगेका थिए । सोधपुछ र घटनालाई रिक्रिएट गर्ने क्रममा अभियुक्तहरु प्रहरीको हतियार थुतेर भाग्न लागेको र प्रहरीमाथि नै फायरिङ गरेकोले आत्मरक्षाको लागि जवाफी कारवाही गर्दा उनीहरुको मृत्यु भएको प्रहरीका भनाइ छ । उनीहरुलाई बिहान ३ बजे मारिएको भारतीय मिडियाले जनाएको छ । एक बरिष्ठ प्रहरी अधिकृतका अनुसार अभियुक्तहरुसँगको मुडभेडमा दुई प्रहरी पनि घाइते भएका छन् ।

प्रहरीको इन्काउन्टर उदाहरण बन्नेछः पीडितकी बहिनी
इन्काउन्टरपछि पीडित युवतीकी पिताले भने, ‘हाम्रो छोरीको हत्या भएको १० दिन भयो । तेलाङ्गना सरकार, प्रहरी र ज–जसले मलाई साथ दिनुभयो, उहाँहरुलाई धेरैधेरै धन्यवाद र बधाई । यदि अपराधी बाचेको भए पनि कारवाहीको लागि लामो समय कुर्नुपर्थ्यो । प्रहरीले एकदमै राम्रो काम गरेको छ ।’उ उनले आज आफ्नो छोरीको आत्माले शान्ति पाउने विश्वास व्यक्त गरेका छन् । यसैगरी पीडितकी बहिनीले अभियुक्तहरु मारिएकोप्रति खुसी व्यक्त गरेकी छन् । उनले भनिन्, ‘यो एक उदाहरण हो, आगामी दिनमा यस्तो हुँदैन भन्ने आशा छ र प्रहरी र तेलङ्गना सरकारलाई धेरैधेरै धन्यवाद ।’

घटनास्थलमा ‘डिसीपी–एसिपी जिन्दाबाद’को नारा
प्रहरीले चार आरोपीहरुको इन्काउन्टर गरेको स्थानमा अहिले थामिनसक्नुको भीड जम्मा भएको छ । प्रहरी अधिकारी र उच्च पदस्थ प्रहरी घटनास्थल पुगेपछि त्यहाँ जम्मा भएको भीडले डिसीपी–एसिपी जिन्दावादको नारा लगाएका थिए । यसको साथै स्थानीयले प्रहरीमाथि फूलहरु पनि बर्साएका छन् ।

प्रहरीलाई महिलाले बाँधे राखी
चार अभियुक्तको इन्काउन्टरपछि स्थानीय महिलाहरु एकदमै खुसी भएका छन् । उनीहरुले बलात्कारी र अपराधीहरुलाई सधैँ यस्तै सजाय हुनुपर्ने बताएका छन् । प्रहरीको कदमबाट एकदमै खुसी महिलाहरुले घटनास्थलमै प्रहरीहरुलाई राखी बाँधेका छन् । राखी विशेषत जनै पूर्णिमाको अवसरमा रक्षा बन्धनको रुपमा बाधिने गर्छ । आफूहरुको रक्षा गरी राक्षसरुपी चार दानवको इन्काउन्टर गरेको भन्दै प्रहरीलाई स्थानीय महिलाहरुले राखी बाँधेका हुन् ।

यो पनि पढ्नुहोस्
हैदरावाद प्रकरणः सामुहिक बलात्कारपछि हत्या गर्ने ४ जनालाई घटनास्थलमै लगेर इन्काउन्टर
सुनसान सडकमा डाक्टरको स्कुटी पञ्चर, बिहान भेटियो जलेको शव

के बोले तेलंगनाका कानुनमन्त्री ?
तेलंगनाका कानुनमन्त्री इन्द्राकरण रेड्डीले एक समाचार च्यानलसँगको कुराकानीमा अपराधीहरुलाई कानुनले भन्दा पहिला भगवानले सजाय दिएको बताएका छन् । उनले भने, ‘अपराधीहरुलाई जे गरियो त्यसले पूरै देश खुसी भएको छ । टेलिभिजनमा हामीले देखेका थियौँ अभियुक्तहरु प्रहरीको हतियार लिएर भाग्न खोजिरहेका थिए । जे भयो राम्रै भयो ।’

१४ दिन न्यायीक हिरासतमा अभियुक्त
हैदराबादमा २७ नोभेम्बर स्कुटरको टायर पञ्चर भएपछि एक टोल प्लाजानजिकै बसिरहेकी २६ वर्षीया पशु चिकित्सकमाथि बलात्कारपछि हत्या गरिएको थियो । उनको जलेको शरीर भोलिपल्ट बिहान भेटिएको थियो । प्रहरीले घटनाको अनुसन्धानको लागि ४ जना अभियुक्तहरुलाई पक्राउ गरी मुद्दा चलायो । उनीहरुको नाम मोहम्मद आरिफ, जोलू शिवा, जोलू नवीन र चिन्ताकुन्टा चेन्नाकेशवुलु थियो ।

आरिफको उमेर २६ वर्ष हो भने अन्य आरोपीहरुको उमेर २० वर्ष बताइएको छ । उनीहरुमध्ये एक ट्रक ड्राइभर थिए भने बाँकी क्लिनर थिए । उनीहरुले चिकित्सकलाई ट्रकमा राखि अपरहण गरेर रक्सी खुवाई ७ घण्टा बलात्कार गरेका थिए । बलात्कारपछि हत्या गरी उनको शव जलाइएको थियो । चार अभियुक्तलाई अदालतले १४ दिन न्यायीक हिरासतमा राखेर बुधबार जेल चलान गरेको थियो ।