११ पुस, बारा । सरकारी कागजात किर्ते गरेको अभियोगमा वडासचिव पक्राउ परेका छन् ।

अदालतमा मुद्दा चलिरहेका बलात्कारको अभियोग लागेको एक युवकको जन्ममिति २ घटाएर बनाइदिएको अभियोगमा पचरौता नगरपालिका वडा नम्बर ४ र ५ का वडासचिव प्रभु पण्डितलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

जबरजस्ती करणी उद्योग कसूरका अभियुक्तलाई फाइदा तथा पीडितलाई नोक्सानी पुर्‍याउने नियतले अभियुक्तको कीर्ते जन्म दर्ता बनाएको अभियोगमा पण्डितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

वडासचिव पण्डितले जबरजस्ती करणी उद्योग कसूर मुद्दामा हाल पुर्पक्षका लागि कारागार चलान गरिएका पचरौता नगरपालिका–५ बस्ने सोहन भन्ने १८ वर्षीय जितेन्द्र महतो नुनियाको २०५८ सालमा जन्म भएकोमा २०६० सालमा जन्म भएको भनि जन्मदर्ता बनाएका थिए ।

पण्डितउपर लिखत सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।