३ साउन, काठमाडौं । हत्तपत्त दुर्घटना नसुनिने त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको थाहा नगरपालिका १ खानीगाउँमा आज बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मकवानपुरको कैलाश गाउँ पालिकाको पकनेबाट काठमाडौंका लागि छुटेको ना ४ ख ४५६७ नम्बरको बस दुर्घटना भएको हो । मृत्यु हुनेमा कैलाश गाउँपालिका डाँडाखर्कका ३० बर्षीय कुन्साङ लामा र गोगनेकी २५ बर्षीया कमला दोङ रहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

उनीहरु दुबैको उपचारका लागि काठमाडौं ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो । दुर्घटनामा ३५ जना गम्भीर घाइते भएका छन् । उनहरुलाई पनि उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । बस सडकबाट झण्डै सय मिटर तल खसेको छ ।

मुग्लिन नारायणगढ सडक पहिरोका कारण दिनहुँजसो अवरुद्ध हुने भएपछि पूर्वतिर जाने र काठमाडौं भित्रिने धेरैजसो सवारीले यो बाटो प्रयो गर्दा अहिले निकै भीड हुने गरेको छ ।