१३ मंसिर, काठमाडौं । नेपालमा हवाइ दुर्घटना हुने वित्तिकै ठूलठूला छानवीन समिति बन्छन् । चाहे त्यो दुर्घटना सामान्य होस् वा ठूलै हताहती । हवाइ विज्ञहरु राखेर हरेक दुर्घटनाको छानवीन हुन्छ, प्रतिवेदन पेश हुन्छन् र दुर्घटना कम गर्नका लागि सुझावहरु पनि पेश गरिन्छन् ।

तर दिनहुँ भइरहने सवारी दुर्घटनाका लागि भने छानवीन गर्ने र कारण र दोषी पत्ता लगाउने काम गरिन्न । प्रहरीले अनुमान गरेर दुर्घटनाको कारण भनिदिन्छ । जस्तो कि ब्रेक फेल, तिब्र गति, ओभरटेक गर्न खोज्दा, चालक निदाएर… यस्तै यस्तै । तर अर्घाखाँचीको नरपानीमा बुधबार भएको बस दुर्घटनाको छानवीनका लागि सरकारी स्तरबाटै समिति गठन भएको छ ।

१९ जनाको ज्यान जाने गरी बुधबार भएको बस दुर्घटना छानबिन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेको संयोजकत्वमा समिति गठन भएको हो । समितिले आवश्यक अध्ययन अनुसन्धानपछि १५ दिन भित्र प्रतिवेदन प्रस्तुत गर्नेछ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दुर्घटनाको कारण पत्ता लगाउन समिति गठन गरेको हो ।

समितिको सदस्यमा सन्धिखर्क नगरपालिका, जिल्ला ट्राफिक कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, डिभिजन सडक कार्यालय शिवपुर, पश्चिम नेपाल यातायात प्रालि, देउराली यातायात प्रालिका एक–एकजना सदस्य छन् । त्यस्तै सन्धिखर्क नगरपालिका–६ का वडाध्यक्ष र पत्रकार महासङ्घका अध्यक्ष वा निजले तोकेको प्रतिनिधि सदस्य रहनेछन् । तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएपनि घटनाबारेमा विस्तृत अनुसन्धान छानबिन समितिले गर्नेछ ।