१६ फागुन, काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जिल्ला अदालतमा काठमाडौंमा मुद्दा दायर गरेका छन् ।

निवर्तमान मन्त्री बाँस्कोटाले आफूविरुद्ध झुट्टा लाञ्छना र गालीबेइज्जती विरुद्ध मुद्दा दायर गरेको जानकारी गराएका हुन् । ट्वीटरमार्फत गराइएको जानकारीमा आफूले न्याय माग गर्दै मुद्दा दायर गरेको उल्लेख गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।’

बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको क्रममा स्वीस कम्पनीको एजेन्टसँग लेनदेनको कुरा गरेको अडियो फागुन ७ गते सार्वजनिक भएको थियो । फागुन ७ गते राति अडियो सार्वजनिक भएपछि उनले भोलिपल्ट दिउँसो आफूमाथि प्रश्न उठेपछि प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका थिए ।