८ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र शहरी विकास मन्त्रालयको जिम्मेवारी दुई मन्त्रीलाई दिएकी छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार गोकुलप्रसाद बाँस्कोटाले सम्हालिरहेको दुईवटा मन्त्रालयको जिम्मेवार तोकेकी हुन् ।

राष्ट्रपति भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार माननीय अर्थमन्त्री डा. युवराज खतिवडाले र सहरी विकास मन्त्रालयको कार्यभार माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्‌गले सम्हाल्ने गरी तोकेकी हुन् ।

फाइल तस्बिर

राष्ट्रपतिको कार्यालयको प्रवक्ता हरि प्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजले सम्हाल्दै आउनुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार माननीय अर्थमन्त्री डा। युवराज खतिवडाले र सहरी विकास मन्त्रालयको कार्यभार माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्‌गले सम्हाल्ने गरी तोक्नु भएको छ ।’