२३ साउन, बागलुङ । बागलुङ समाज पोर्चुगलले बागलुङ जिल्लाका मिर्गौलापीडित र क्सान्सरपीडित बिरामीलाई आर्थिक सहयोग प्रदान गरेको छ । समाजको पहलमा पोर्चुगलमा सङ्कलन भएको दुई हजार ४०० युरो अर्थात् रु दुई लाख ९३ हजार २८० जिल्लाका तीन बिरामीलाई सहयोगस्वरुप प्रदान गरिएको समाजका अध्यक्ष प्रेम खड्काले जानकारी दिनुभयो ।

अर्थाभावका कारण उपचारमा समस्या भएको खबर प्राप्त भएपछि बिरामीको उपचार नरोकियोस् भन्ने उद्देश्यले रकम सङ्कलन गरेर सहयोग प्रदान गरिएको खड्काले बताउनुभयो ।

खड्काका अनुसार जिल्लाको गल्कोट नगरपालिका नरेठाँटी निवासी मिर्गौलापीडित गमप्रसाद श्रीस, जिल्लाकै बडीगाड गाउँपालिका–१० निवासी क्यान्सरपीडित दलबहादुर बुढामगर र बागलुङ नगरपालिका तित्याङ निवासी क्यान्सरपीडित सपना खड्का खत्री गरी तीन बिरामीलाई रु ९७ हजार ७६० का दरले सहयोग रकम हस्तान्तरण गरिएको हो ।

सहयोग रकम गैरआवासीय नेपाली सङ्घका पूर्वआइसीसी सदस्य तथा बागलुङ समाज पोर्चुगलका सल्लाहकार सूर्य हमालको टोलीले जिल्लामै पुगेर हस्तान्तरण गरेको उहाँले बताउनुभयो । रासस