२८ भदौ, सोलुखुम्बु । खुम्बुपासाङल्हामु गाउँपालिका–२ मा रहेको सुर्के खोलामा आएको बाढीले फलामे पुल बगाउँदा आवतजावतमा समस्या भएको छ । बिहीबार बेलुका अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा आवातजावत ठप्प भएको हो ।

फाइल तस्बिर

पर्यटकीय मौसम भएकाले यात्रुको चाप बढी भएपछि प्रहरी र स्थानीयले फड्के पुल बनाएर सामान्य आवतजावत सञ्चालन गरेका छन् । तर, खच्चड र घोडाको लागि पूर्णरुपमा आवगमन बन्द भएको स्थानीय याङ्जी शेर्पाले जानकारी दिनुभयो । यति बेला दैनिक खरिखोलाबाट सयौँ विदेशी तथा स्वदेशी पर्यटक सुर्के हुँदै लुक्ला जान्छन् । पर्यटकको लागि आवश्यक खाद्यान्नको सामान तथा लत्ताकपडा खच्चड र घोडाको प्रयोग गरी ढुवानी गरिन्छ । सडकको पहुँच नभएका कारण त्यस क्षेत्रमा सामान ढुवानीका लागि भरपर्दो साधन खच्चड, घोडा नै । तीनै खच्चड र घोडा हिडाउन नसक्ने भएपछि थप समस्या भएको स्थानीयले बताएका छन् ।

खुम्बु क्षेत्रका लागि खच्चडको प्रयोग गरी सामान ढुवानी गरिन्छ तर । बाटो अवरुद्ध भएपछि समस्या हुने लुक्लाका व्यवसायी फिन्जो शेर्पाले बताउनुभयो । शेर्पाले स्थानीय तहलाई तत्कालै बैकल्पिक व्यवस्था गर्न माग गर्नुभयो ।

यसैबीच, बाढिले सोही स्थानको सुर्केखोला पेल्ट्रीकसेटको पाइप र ट्याङ्की बगाएको छ । बाढीले विद्युत्को पाइप र ट्याङ्की बगाउँदा ५० घरमा विद्युत् आपूर्ति बन्द भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो । विद्युत् अवरुद्ध हुँदा मोबाइल चार्ज गर्नदेखि रेडियो टेलिभिजन हेर्न नपाएको स्थानीयले बताएका छन् ।