३ फागुन, एजेन्सी । अनाथ बालबालिकाहरुलाई राखिएको बालगृहमा भएको आगलागीमा परी हाइटीमा १५ बालबालिकाको मृत्यु भएको छ ।

हाइटीको राजधानी पोर्ट औ प्रिन्सनजिकै रहेको बालगृहमा आगलागी भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । मृत्यु भएका मध्ये दुई जना पूर्ण रुपमा जलेका छन् । त्यस बाहेक अरु १३ जना भने घर भित्रै थुनिएर श्वासप्रश्वास अवरुद्ध भई मृत्यु भएको छ ।

घटनामा परी अरु केही घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको श्वासप्रस्वासमा समस्या रहेको पाइएको छ ।

आगलागी बालगृहको पहिलो तलबाट सुरु भएको थियो । बालगृहमा ६६ जना बालबालिका रहेको थिए ।