काठमाडौं, ६ बैशाख । सरकारले शुक्रबार र शनिबार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्र्तगत ७७ वटै जिल्लाका ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत शुक्रबार भक्तपुरको मध्यपुर थिमिमा भिटामिन ‘ए’ खुवाउँदै स्थानीय स्वास्थ्य स्वय्मसेवी । तस्वीर: नवीन पौडेल, रासस

शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाका ५ वर्षमुनिका बालबालिकालाई पोषणस्थिति लेखाजोखा र ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई सुक्ष्म पोषणतत्व बालभिटा वितरण गर्ने कार्यक्रम पनि रहेको छ । यी कार्यक्रमका लागि सबै स्थानीय तहबाट सहयोग समन्वय र प्रचारप्रसारमा सहजीकरण गरी अभियान सफलतापूर्वक संचालन गर्न सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

यसअघि जिल्ला स्वास्थ्य र जिल्ला जनस्वास्थ्य कार्यालयले आफ्ना जिल्लामा कार्यक्रम संचालन गर्दै आएका थिए । संघीयतापछि देशभरका ७ सय ५३ वटै स्थानीय तहमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने जिम्मेवारी स्थानीय तहले पाएका छन् ।