२२ मंसिर, काठमाडौं । बाँकेको कोहलपुरमा ट्रकले एक बालिकालाई ठक्कर दिएपछि आक्रोशित भिडले ट्रक जलाइदिएको छ । प्रदर्शन चर्किँदै जाँदा कोहलपुर तनावग्रस्त बनेको छ ।

ना २ ख ९४५९ नम्बरको ट्रकले भे ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा १२ वर्षीया प्रकृति चन्द गम्भीर घाइते भएकी छन्। कोहलपुरको त्रिभूवन उच्च मावि नजिकै दुर्घटना भएपछि विद्यार्थीहरुले ट्रक तोडफोड र आगजानी गरेका छन् । घाइते बालिकाको अहिले नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।

आक्रोशित विद्यार्थीले नेपालगञ्ज-कोहलपुर सडकमा अरु गाडीमा पनि तोडफोड गरेका छन्। तनाव बढेपछि प्रहरीले विद्यार्थीमाथि लाठी चार्ज गरेको छ। त्रिभूवन माविदेखि सुरु भएको तनाव कोहलपुर बजार चोकसम्म नै पुगिसकेको छ। प्रहरीमाथि स्थानीय बासिन्दा, अभिभावक र विद्यार्थीले ढुंगा हानेका छन्। भीड तितरबिर पार्न प्रहरीले हवाई फायर गरेको छ। ठूलो भीड खनिएपछि प्रहरी इलाका प्रहरी कार्यालय क्षेत्रमा सीमित भएको छ। झडपपछि सडकबन्द भएको छ ।