१७ कात्तिक, एजेन्सी ।

उत्तर भारतस्थित अदालतले दश वर्षीया एक बालिकाको बलात्कारको अभियोगमा उनका दुईजना मामालाई आजीवन जेल सजाय तोकेको छ ।

भारतको सर्वोच्च अदालतले आफ्नै मामाद्वारा बलात्कार गरिएकी ती बालिकालाई उनकै जीवनका लागि खतरा हुने भन्दै गर्भपतन गर्नबाट रोकेको थियो ।

जुलाई महिनामा ती बालिकाले पेट दुखेको गुनासो गरेपछि चिकित्सकले उनी गर्भवती भएको बताएका थिए । अगष्टमा उनले एक छोरीलाई जन्म दिएकी थिइन् । ‘फास्ट ट्¥याक’ भनिएको छिटो मुद्दा हेर्ने अदालतले सोमबार ती दुवै पुरुषलाई बलात्कारमा दोषी ठहर गरेको थियो ।

यो अमानविय घटनाले भारत तथा विश्वभर निकै चर्चा पाएको थियो । चन्डीगढस्थित स्थानीय अदालतले ती बालिकाको गर्भ ३० हप्ता पुगिसकेको भन्दै उनको ज्यानमा जोखिम हुने ठानी गर्भपतन विरुद्ध फैसला दिएको थियो ।

एक आँकडा अनुसार प्रत्येक १५५ मिनेटमा त्यहाँ १६ वर्ष उमेर मुनिका एकजनाको बलात्कार हुने गर्छ । सन् २०१५ मा मात्रै १० हजार भन्दा धेरै बालबालिका बलात्कृत भएका थिए ।