११ माघ, काठमाडौं । अस्ट्रेलियामा जारी बीगबास लिग (बीबीएल) टी–२० क्रिकेटमा नेपाली क्रिकेटर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । मेल्बर्न स्टार्सबाट खेलेका उनले शनिबार ब्रिसब्यान हिटविरुद्धको खेलमा पूरा ४ ओभर बलिङ गर्दा १ विकेट लिन सफल भए ।

छैटौं, आठौं, एघारौं, र तेह्रौं ओभर बलिङ गरेका उनले एघारौं ओभरको चौथो बलमा हिटका क्रिस लिनलाई पेभेलियन फर्काएका हुन् । सन्दीपको बललाई लिनले छक्का प्रहार गर्न खोजेका थिए तर उक्त बललाई निक लर्किनले बिच मैदानमै क्याच गरे ।

व्यक्तिगततर्फ पहिलो र दोश्रो ओभरमा समान ३–३ रन दिएका उनले तेश्रो ओभरमा ५ रन खर्चिएर १ विकेट लिएका हुन् । यस्तै व्यक्तिगतर्फ आफ्नो अन्तिम ओभरमा लामिछानेले ५ रन खचिएका छन् । ४ ओभरमा उनले ९ बल डट रहेको थियो भने एउटा पनि बाउन्ड्री दिएनन् । आजको खेलमा उनको इकोनोमी ४ मात्र रहेको छ ।

योसँग उनले टी–ट्वान्टी खेलमा ९९ विकेट लिएका छन् ।