५ चैत, एजेन्सी । कोरोना भाइरस अहिले विश्वको १ सय ६५ भन्दा बढी देशमा फैलिइसकेको छ । भाइरसबाट अहिलेसम्म ८ हजारमा मासिसको मृत्यु भइसकेको छ भने लभभग २ लाख मानिसहरुमा यसको संक्रमण देखिएको छ ।

भारतमा पनि यसको प्रभाव देखिएको छ । त्यहाँ कोरोनाका १ सय ५० भन्दा बढीमा संक्रमित भेटिइसकेका छन् । यसैक्रममा बिहार सरकारले कोरोनाभाइरसको प्रकोपबाट बच्नको लागि भन्दै राज्यका मन्दिरहरु ३१ मार्चसम्मको लागि बन्द गर्ने घोषणा गरेको छ ।

बिहार सरकारले कोरोना भाइरबाट राज्य महामारीको घोषणा गरेको छ । कोरोनभाइरसको संक्रमण रोक्न, परीक्षण र उपचारमा सहयोग नगर्ने मानिसलाई कानुनी कारवाही अगाडि बढाउने जनाएको छ । भारतको स्वास्थ्य विभागको निर्देशिका बमोजिम बिहारमा ‘महामारी रोग, कोविड—१९, नियमावली २०२०’को तत्काल लागू गरेको छ ।

नियमावलीका अनुसार प्रमुख जिल्ला अधिकारीलाई निश्चित अधिकार दिइएको हुन्छ । उसले आफू मातहतका गाउँ, नगर र वडाहरुमा कसैलाई कोरोनाभाइरसको संक्रमण देखिएमा उनलाई उपचारमा राख्नेछ । उपचारको लागि नमानेमा उनलाई तत्काल कारवाही गरिनेछ । बिहार सरकारले आफ्ना राज्यहरुको विद्यालय, कार्यालय बन्द गर्नसक्ने बताउँदै भीडभाडमा नजान र धेरै मानिसको हुल जम्मा हुन रोक लगाएको छ ।

बिहारमा ६९ जनामा कोरोना संक्रमितको आशंका गरिएका मानिसहरुको परीक्षण गरिएकोमा अहिलेसम्म कसैमा पनि संक्रमण देखिएको छैन । बिहार स्वास्थ्य विभागका अनुसार २५ जनवरीदेखि अहिलेसम्म ३ सय ११ जनालाई निगरानीमा राखिएको छ । जसमध्ये १ सय ५ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । बिहारको राजधानी पटनाको विमानस्थलमा १९ हजार ५ सय २९ जनाको स्क्रिनिङ गरिएको छ ।