९ कात्तिक, धुन्चे (रसुवा)।

नेपालका लागि चीनले दिने अनुदानको पेट्रोलियम पदार्थ बुधबारसम्म रसुवागढी आइपुग्ने भएको छ ।

दैनिक २५ वटा नेपाली ट्याङ्करले रसुवागढीबाट अनुदानको इन्धन बोकी काठमाडौँस्थित केन्द्रीय भण्डारणमा पुर्याउने वाणिज्य विभागमार्फत जानकारी पाएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

रसुवागढीसम्म नै चिनियाँ पक्षले इन्धन ल्याई पेट्रोलियम पदार्थ नेपाली ट्याङ्करमा भरिने बताइएको छ । भूकम्पपछि चिनियाँ भू–भागमा बिग्रिएका सडक मर्मतसम्भार र पुनःनिर्माण गरी केही दिनदेखि सञ्चालनमा ल्याइएको छ ।

रसुवागढी नाका पूर्णरुपले सञ्चालनमा आउने भएपछि सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मले आफ्नो सुरक्षाफौज टिमुरेमा तैनाथ गरी यथेष्ट सुरक्षा व्यवस्था मिलाइसकिएको सशस्त्र प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दर्शन गिरीले बताए ।

राजस्व सङ्कलनमा पूर्ण रुपले सहयोग गर्दै सीमाको सुरक्षा र सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

यसैबीच, चीनबाट अन्य उपभोग्य सामान आयातका लागि १३ जना व्यापारी र स्थानीयबासिन्दा हिजो अपराह्न अध्यागमनको अनुमतिबाट केरुङतर्फ प्रस्थान गरिसकेका छन् । रासस