२५ कात्तिक, एजेन्सी । बङ्गलादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नाम दिइएको सामुद्रिक आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको बङ्गलादेशका अधिकारीहरूले जनाएका छन् । आँधी प्रभावित २० लाख भन्दा बढी व्यक्तिलाई अस्थायी शिविरमा राखिएको छ ।

करिब १ सय २० किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८ः३० बजे भारतको पश्चिम बङ्गालबाट बङ्गलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आएको आँधीका कारण दुबै देशका बन्दरगाह र विमानस्थल बन्द गर्न बाध्य पारेको बताइएको छ ।

बुलबुलबाट भारतको पश्चिम बंगाल राज्यमा दश जनाको मृत्यु भएको प्रेस ट्रस्ट अफ इण्डिया (पिटिआई)ले जनाएको छ । अन्य दुई जनाको ओडिशा राज्यनजिकै मृत्यु भएको छ । बंगलादेशमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य २० घाइते भएका छन् । बङ्गलादेशको दक्षिणी टापु भोलानजिकै रहेको मेघना नदीमा माछा मार्न गएका पाँचजना माझी हराइरहेका जिल्ला प्रशासक मसूद आलम सिद्दीकीले एएफपीलाई बताउनु भएको छ ।

बुलबुलबाट प्रायः माटो र जस्तापाताले बनाएका करिब चार हजार घरमा क्षति पुगेको प्रकोप व्यवस्थापन सचिव शाह कमलले बताएका छन् । बङ्गलादेशको मौसम विज्ञान विभागका अधिकारी डा अबुल कलाम मलिकले बुलबुल आँधीले आइतबार नै बङ्गलादेशको दक्षिणपश्चिमी तटीय क्षेत्र पार गरिसकेको जनानाएका छन् ।