३ चैत, अर्घाखाँची।
रोल्पा जिल्ला पाङ गाविस– ५ निवासी दीपक विष्ट पाँच महिनादेखि हराएका थिए, कात्तिक ४ गते घरबाट हिँडेका विष्टलाई आफन्तले वनजङ्गल, खोल्साखाल्सी सबैतिर खोजे, रेडियो पत्रपत्रिकामा सूचना राखे ,परिवार रोए, कराए , तर कही कतै फेला पार्न सकेनन् ।

‘अब जिउँदो छैन होला भनेर हिन्दू संस्कार अनुसार काजकिरिया गर्नसमेत योजना बनाएको बेला उनकोे फेसबुकमा फोटा देखे’ । घुम्दै फिर्दै सन्धिखर्कमा आएका विष्टको फोटो फेसबुकमा राखे अर्घाखाँचीका समाजसेवी सहयोगी बिसीले ।

उनले फेसबुकमा पोस्ट गरेको फोटो देखेपछि आफन्तलाई लाग्यो , दीपक अझै जिउँदै रहेछन् । परिवारले खुसी हुँदै मसँग फोन सम्पर्क गरे समाजसेवी सहयोगी बिसीले भने।

दीपक अर्घाखाँचीमा आफुसँग सुरक्षित छन् भन्ने खबर बिसीले दिए पछि त्यही आधारमा बुबा रामबहादुर विष्ट र भाइ टकबहादुर विष्ट सन्धिखर्कमा लिन आए । ‘जति बेला उनी तीन जनाको भेटभयो एक किसिमको रुवावासी भयो ’। खुसीका आँसु अनि एक आपसमा झम्टेर रुदा हामीहरुको समेत आँसु आयो बिसीले भने।

दुई छोरी र एक छोराका पिता दीपक जो बोल्दै नबोल्ने, केही नभन्ने , बुबासँग भेट हुँदा खुट्टामा ढोग गर्दा र भाइलाई मुसारेर आर्शीवाद दिँदा खुसीको सीमा रहेन बिसीले बताए ।

झन्डै १० वर्ष अघि इराकमा भिसा लागेर जान ठिक्क परेका बेला १२ नेपालीको हत्यापछि विदेश जान नपाउँदा र भिसा लागेको पैसा खेरगएपछि दीपकले मानसिक सन्तुलन गुमाएका थिए ।

उनलाई सन्धिखर्कबाटै काठमाडौँस्थित कोसिस संस्थामा उपचारका निम्ति पठाइएको छ ।
एउटा बेवारिसे व्यक्ति देखेर दुई,चारघन्टा समय दिँदा एउटा परिबारमा नयाँ खुसी ल्याउन सफल भएकोमा सहयोगी बिसी सारै खुसी छन् । रासस