१४ साउन, भैरहवा । नेपाल–भारत सीमा क्षेत्र बेलहियामा छिट्टै एकीकृत जाँच चौकी (आइसिपी) स्थापना गरिने नेपालका लागि भारतीय राजदूत मञ्जीत सिंह पुरीले बताएका छन् ।

शुक्रबार नेपाल–भारत सीमा समस्या तथा व्यापार सहजीकरण कार्यक्रममा भैरहवा पुगेका राजदूत सिंहले व्यवस्थित भन्सार सञ्चालनका लागि एकीकृत जाँच चौकीको स्थापना छिट्टै गर्न लागिएको कार्यक्रममा जानकारी गराएका हुन  ।

उनले रक्सौल र पर्वानीपुरमा जस्तै भैरहवा क्षेत्रमा पनि भारतीय बजारबाट विद्युत् आयातका लागि प्रयास जारी रहेको बताउँदै नेपालको व्यापार प्रवद्र्धनमा भारतको सधैँ सहयोग रहने विचार व्यक्त गरे।

उद्योगी व्यापारी तथा सीमा क्षेत्रमा रहेका सुरक्षा अधिकारीले उठाएको प्रश्नको जवाफ दिँदै राजदूत सिंहले नेपाल–भारतबीचको सम्बन्ध निकै गहिरो रहेकाले दुई देशका व्यापारी तथा कर्मचारी र राजनीतिक तहमा अझ सामिप्यता हुन जरुरी रहेको औँल्याए ।

कार्यक्रममा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायलेसमेत आपसी समझदारीमा सीमा क्षेत्रमा हुने सानातिना समस्या सहजीकरण गर्न सबैले सहयोग परयाउनुपर्ने बताए ।

नेपालका तर्फबाट रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर धानुक, सीमा सुरक्षा कार्यालय सशस्त्र प्रहरी बल रुपन्देहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्द खाँती, भैरहवा भन्सार कार्यालयका प्रमुख भूपालराज शाक्य, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्मालगायतको उपस्थिति रहेको थियो ।

भारतका तर्फबाट महाराजगन्ज जिल्लाका डिएम वीरेन्द्रकुमार सिंह, जनपथ प्रहरी प्रमुख प्रहरी उपरीक्षक आरपी सिंह, एसएसबी कमाण्डेट शिवदया, व्यापार मण्डलका अध्यक्षलगायतको कार्यक्रममा सहभागिता रहेको थियो । रासस