३२ साउन, काठमाडौं । गाईजात्राको दोस्रो दिन बौद्ध क्षेत्रमा रोपाइँजात्रा मनाइएको छ । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट अर्थात् भाद्र कृष्ण द्वितीयाका दिन बौद्ध क्षेत्रमा रोपाइँजात्रा मनाउने प्रचलन छ ।

बौद्धनाथ क्षेत्र विकास समितिको संयोजनमा बौद्ध क्षेत्रका सबै संस्थाको सहभागितामा जात्रा मनाइएको हो । सांस्कृतिक झाँकी, बाजागाजासहित उपस्थित लाठे, रोपाहारलगायत कलाकारले बौद्धबाट टुसालसम्मको क्षेत्रमा झाँकी प्रदर्शनसमेत गरेका थिए ।

जात्रामा उत्कृष्ट प्रदर्शन गर्नेलाई सांसद कृष्ण राईले पुरस्कार वितरण गर्नुभयो । कार्यक्रममा उहाँले बौद्ध क्षेत्रका मूर्त एवं अमूर्त संस्कृति संरक्षणमा समितिलगायत यहाँका संस्थाको भूमिका महत्वपूण रहेको बताउनुभयो ।

नेपाल भ्रमण वर्षमा अझ धेरै पर्यटक आउने गरी तयारी गरिनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा समितिका अध्यक्ष चन्द्रमान लामा, कार्यकारी निर्देशक वसन्त लामालगायतले बौद्ध स्तुप क्षेत्रको संरक्षणका लागि काम गर्न लागिएको जानकारी गराउनुभएको थियो ।

गाईजात्राको तेस्रो दिन जगवागेश्वरीमा पनि रोपाइँजात्रा आयोजना गरिन्छ । भाद्र कृष्ण प्रतिपदाका दिन शुरु भएको गाईजात्रा अष्टमीका दिनसम्म मनाउने परम्परा छ । जात्रा हेर्न विदेशीय पर्यटकको पनि भीड लाग्ने गर्छ ।