६ मंसिर, बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले ब्यालेटबाट कम्युनिष्ट शासन व्यबस्था आउन नसक्ने बताएका छन । उनले व्यालेटबाट कम्युनिष्ट शैलीको शासन व्यबस्था ल्याउने सपना नदेख्न पनि एमाले माओवादीलाई चेतावनी दिए ।

नेपाली काँग्रेस निर्वाचन परिचालन समिति केन्द्रीय मतदान प्रशिक्षण समन्वय उपसमितिको आयोजनामा मंगलबार बुटवलमा भएको मतदान प्रशिक्षण कार्यक्रममा बोल्दै नेता खाँणले सो चेतावनी दिएका हुन ।

निर्वाचन घोषणा भएपछि काँग्रेसको जनआधार र माहौल बनेको देखेकै कारण बाम गठबन्धन बनेको उल्लेख गरे । उनले एमाले —माओवादीको कम्युनिष्ट शासन व्यबस्था ल्याउने कुराले सामान्य तटस्त मतदातामा ठूलो सन्त्रास फैलिएको बताउँदै भने, “कम्युनिष्ट शैलीको शासन व्यबस्था व्यालेटबाट आउँदैन, बन्दुकबाट आउँछ ।”

आसन्न निर्वाचनका लागि एमाले माओवादीको बाम गठबन्धनले उद्योगी व्यबसायी तथा आम नागरिकलाई ठूलो सन्त्रास पैदा गराएको बताउँदै उनले एमाले माओवादी गठबन्धनको सन्त्रासबाट कत्तिपनि विचलित नहुन आग्रह गरे ।

पूर्व मन्त्री समेत रहेका नेता खाँणले भने,“नेपाली काँग्रेस कमजोर हुँदा राष्ट्रियता, लोकतन्त्र पनि कमजोर हुने र शान्ति प्रकृयामा पनि बाधा व्यबधान आउने हुनाले राष्ट्रियता, लोकतन्त्र र शान्ति प्रकृयालाई मजबुद बनाउन नेपाली काँग्रेस बलियो पार्नुपर्दछ । निर्वाचनमा कांग्रेसलाई अध्यधिक बहुमतले जिताउन आवश्यक छ ।“

नेता खाँणले आसन्न प्रतिनिधि निर्वाचनमा प्रत्यक्ष तर्फका १ सय ६५ सिट प्रतिनीधि सभामा नेपाली काँग्रेसले ८० सिटमा जित हासिल गर्ने दावी गरे । उनले निर्वाचनमा बदर मत रोक्न सके यो संख्या पनि ह्वात्तै बढ्ने जिकिर गरे । समानुपातिकमा ४५ प्रतिशत नेपाली काँग्रेसले ल्याउने दावी गर्दै लोकतानित्रक गठबन्धनबाट पनि सबै ठाउँमा जित हासिल गरे नेपाली काँग्रेसले सजिलै सरकार बनाउने नेता खाँणले उल्लेख गरे ।