प्रेम सम्बन्ध वा वैवाहिक सम्बन्ध टु्ट्दा हुने भावनात्मक पिडा भुलाउन सजिलो छैन। संगै विताएका पलहरुका सम्झनाले कहाँ सजिलै बिसर्न दिन्छ र? अझ सामाजिक सञ्जालमा सेयर गरिएका तीनै पलहरुका पोस्ट अनि तस्विरले बारम्बार तिनै दिनहरु बिउँत्याइदिन्छ, झस्काइरहन्छ।

तर, जो विगत भइसक्यो, त्यसले आफ्नो वर्तमान किन विगार्ने? यस्तोमा प्रश्न बन्छ कि, सामाजिक सञ्जालमा जोडिरहनु ठिक हो? के आफ्नो एक्स गर्लफ्रेन्ड वा एक्स ब्वाइफ्रेन्डलाई फेसबुक वा अन्य सामाजिक सञ्जालबाट अनफ्रेन्ड वा ब्लक गर्दा उसलाई भुल्न सजिलो हुन्छ?

सेयर गरिएका पोस्टले निम्त्याउने चिन्ता
मान्नुस् या नमान्नुस्, ब्रेकअप पश्चात एक्स पार्टनर जीवनमा सहजै अगाडी बढेको देख्दा दुःख लाग्छ। दुःख यो प्रसंगमा कि, ब्रेकअपको पिडा उसमा नदेखिदाँ मन कटक्क काट्छ। ब्रेकअप पश्चात एक्स पार्टनरले सेयर गरेका पोस्ट अनि तस्विरले तपाइलाई अगाडी बढ्न रोकिरहन्छ। एक्स पार्टनरलाई अनलाइनमा दिनरात पछ्याइ रहेर समय र स्वास्थ्य बर्बाद गर्नु उपयुक्त होइन।

असहजता
तपाइको एक्स पार्टनर सामाजिक सञ्जालमा जोडिरहँदा तपाइ खुलेर पोस्ट सेयर गर्न सक्नुहुन्न। नयाँ सम्बन्ध सुरु गर्न प्रयोग हुन सक्ने सामाजिक सञ्जाल बाधक भइदिन्छ। हरेक पोस्ट सेयर गर्नुपूर्व एक्स पार्टनरले के सोच्ने हो भनी आउने प्रश्नले थप असहजता थप्छ।

नदेख्दा सजिलो
कतिपय अवस्थामा नदेख्दा, नसुन्दा एक्स पार्टनरको याद भूलाउन सजिलो हुन्छ। उसलाई नदेख्दा जीवनमा अगाडी बढ्न सजिलो हुन्छ भन्ने लाग्छ भने सामाजिक सञ्जालमा जोडिरहनु हुँदैन। यदि उसको पोस्टहरुले कुनै असहजता ल्याउँदैन, सम्बन्धको घाउ भरिसक्यो भने सामाजिक सञ्जालमा फेरि जोडिन सक्नुहुन्छ। तर उसको याद आयो भन्दैमा कहिले ब्लक गर्ने अनि कहिले अनब्लक गर्ने गर्नुहुँदैन।

ब्लक गर्दा दुःख
यदि उससंग सेयर गरिएका धेरै पोस्टहरु सामाजिक सञ्जालमा छन् र ब्ल्क गर्दा पछि पश्चाताप हुन्छ जस्तो लाग्छ भने ब्ल्क नगरिहाल्नुस्। केही समय कुर्नुस्, सामाजिक सञ्जालमा जोडिरहँदा त्यसले पार्ने प्रभाव बुझ्नुस् अनि उसलाई ब्ल्क वा अनफ्रेन्ड गर्न आफै मन दह्रो हुँदै आउँछ।

चिनजानका साथीहरुसंग अनावश्यक लफडा हुँदैन
ब्लक गर्नु भयो भने एक्स पार्टनर र तपाइका ‘म्युचुअल फ्रेन्ड’संग अनावश्यक असहजता कम हुन्छ। तपाइ र एक्स पार्टनर साथी नहुँदा उनीहरुले ढुक्कले पोस्टहरु सेयर गर्न पाउँछन्, तपाइ र तपाइको एक्ससम्बन्धि पोस्ट नै किन नहोस्।